निर्माण तत्काल नरोके सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दनका धेरै बस्ती डुबानमा पर्ने निश्चित
परासी — भारतले दशगजानजिकै एकतर्फी रूपमा ड्यामसहितको सडक निर्माण गरिरहेको छ । दुई देशबीचको तल्लो र माथिल्लो तटीय क्षेत्रको आठ किलोमिटरसम्म एकतर्फी ड्याम, ठूला संरचना र प्राकृतिक पानीको बहाव रोकिने संरचना निर्माण गर्न पाइँदैन । निर्माण गर्नुपरे दुवै देशको सहमति अनिवार्य छ । तर, भारतले प्रतापपुर गाउँपालिकाको झुलनीपुर नाका नजिकै दशगजाबाट ५० मिटर दूरीमा सडक निर्माण गरिरहेको हो ।भारत उत्तर प्रदेश महाराजगन्ज जिल्ला निचरौल ग्राम पञ्चायतको क्षेत्रमा भारतको सीमा सुरक्षा सडक (बीआरओ) परियोजना अन्तर्गत पूर्वदेखि पश्चिमसम्म निर्माण भइरहेको हो ।जसले गर्दा नेपाली भूमि डुबानमा पर्ने खतरा छ । ७ फिट उचाइ र २५ मिटर चौडाइको सडकमा कहीं पनि पुल तथा पानी निकासका लागि पूर्वाधार बनाइएको छैन ।पानीको निकास थुनिँदा नेपाली भूभाग डुबानमा पर्ने सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए । ‘भारतले अन्तर्राष्ट्रिय नियमविपरीत दशगजाबाट ५० मिटरको नजिकै ठूलो सडक निर्माण गरिरहेको छ,’ उनले भने, ‘यो सडक निर्माण भएपछि नेपाली भूभाग सधैं डुबानमा पर्नेछ । यसबारे गृह मन्त्रालयदेखि भारत उत्तर प्रदेशसम्म जानकारी गराएको भए पनि अहिलेसम्म सुनुवाइ भएको छैन ।’सडक निर्माण तत्काल नरोक्ने हो भने पश्चिम नवलपरासीको सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाका धेरै बस्ती डुबानमा पर्ने निश्चित छ । संविधानसभा सदस्य देवकरण कलवारका अनुसार यो सडक बनाउन भारतले वर्षौंदेखि प्रयास गरेको थियो । हरेक वर्ष केही किलोमिटर बढाउने रणनीतिअनुसार उसले काम गर्दै आएको कलवारले बताए । ‘यो सडकको मुद्दा तत्कालै प्रधानमन्त्री वा परराष्ट्र मन्त्रालयस्तरमा पुग्नुपर्ने हो । सडक निर्माणका नाममा ड्याम बनाउन पाइँदैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय नियमको पालना नगरी एकतर्फी रूपमा निर्माण भएको संरचना तत्काल रोकिनुपर्छ । नेपालीलाई डुबानमा पार्ने गरी स्थायी संरचना बनाउन पाइँदैन ।’
प्रकाशक:
स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१
ईमेलः smartsanchar78@gmail.com
सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९
संचालक: सबिन गोदार
हाम्रो बारेमा:
सम्पादकः हिम प्रसाद सुवेदी
सह-सम्पादक / व्यवस्थापक : पुजन थापा
बिज्ञापनको लागि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१